काठमाडौँ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले एकै व्यक्तिमा तेस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले नेपालमै पहिलो पटक एकै व्यक्तिमा तेस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेर इतिहास रच्ने काम भएको बताए ।
तेस्रो पटक प्रत्यारोपण निकै जटिल हुने भए पनि सफल भएकाले अब मिर्गौला प्रत्यारोपण नेपालमै सम्भव छ भन्ने उदाहरण स्थापित भएको उनले बताए । गत ९ भदौमा सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तथा सांसद लक्ष्मणकिशोर चौधरीको तेस्रो पटक मिर्गौला प्रत्यारोपण गरी उनलाई शनिबार डिस्चार्ज गरिएको डा. श्रेष्ठले जानकारी दिए । ‘सामान्यतया मिर्गौला प्रत्यारोपण एक पटक सफल भएपछि लामो समयसम्म प्रत्यारोपित मिर्गौलाले काम गर्छ । तर, इम्युनोलोजिकल अस्वीकार, संक्रमण, क्रोनिक अलोग्राफ्ट, नेफ्रोप्याथीलगायत विविध समस्याले मिर्गौला असफल हुन सक्ने सम्भावना रहन्छ । यस्तो अवस्थामा दोस्रो प्रत्यारोपण गरिन्छ । तर, तेस्रो पटक प्रत्यारोपण गर्नुपर्ने अवस्था भने अत्यन्तै दुर्लभ हुन्छ,’ उनले भने, ‘प्राविधिक जटिलता, औषधीय चुनौती तथा दाता पाउन कठिनाइ हुने र जोखिम झनै बढी हुने हुँदा तेस्रो प्रत्यारोपण संसारमै सीमित मात्रामा हुने गरेको छ । मैले बेलायतमा यस्तो जोखिमपूर्ण प्रत्यारोपण गरेको अनुभव भएकाले नेपालमा सम्भव भएको हो । अब हामी जटिल प्रत्यारोपणका लागि सक्षम छौँ ।’
चौधरीको पहिलो मिर्गौला प्रत्यारोपण भारतको लखनउमा गरिएको थियो भने २०७२ सालमा दोस्रो र हाल तेस्रो प्रत्यारोपण सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डा. श्रेष्ठकै नेतृत्वमा गरिएको हो । चौधरीको तेस्रो प्रत्यारोपण ‘पेयर एक्सचेन्ज’ प्रणालीअन्तर्गत गैरनातेदारबीच अंग साटासाट गरी गरिएको उनले जानकारी दिए । नेपालमा एकै व्यक्तिमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण वीर अस्पतलमा डा. श्रेष्ठकै नेतृत्वमा सन् २०१० मै सुरु भएको र तेस्रो प्रत्यारोपण भने अत्यन्तै दुर्लभ उपलब्धि भएको केन्द्रले जनाएको छ । प्रत्यारोपण केन्द्रले स्थापनाको १३ वर्षमा १ हजार ५०२ जनाको सफल मिर्गौला प्रत्यारोपण तथा ३५ जनामा कलेजो प्रत्यारोपण गरिसकेको जनाएको छ ।