काठमाडौँ । सौन्दर्य प्रतियोगिता ‘मिस होस्टल नेपाल–२०२५’को उपाधि यहाना श्रेष्ठले जितेकी छन् । काराओके इन्टरटेन्मेन्ट प्रालिले होस्टल व्यवसायी संघसँग सहकार्य गर्दै आयोजना गरेको प्रतियोगितामा प्लाटिनम गल्र्स होस्टल डिल्लीबजारकी छात्रा यहानाले शीर्ष ताज पहिरिएकी हुन् । उनले १ लाख रुपैयाँसहित उपहार र होस्टलबाट छात्रवृत्ति पाइन् । उनलाई नयाँबानेश्वरको एभरेस्ट अस्पतालले सद्भावना दूतसमेत नियुक्त गरेको छ ।
त्यस्तै प्रतियोगितामा सेन्ट्रल गल्र्स होल्टल पुतलीसडककी छात्रा वन्दना खरेल फस्ट रनरअप र श्रीया गल्र्स होस्टल बुद्धनगरकी छात्रा स्वर्णिमा सापकोटा सेकेन्ड रनरअप भए । उनीहरूले क्रमशः ५० हजार र २५ हजार रुपैयाँसहित पुरस्कार पाए ।
प्रतियोगितामा विधागततर्फ सुहाना मादेन लिम्बूले ‘मिस कोवी’, खुस्बु खातुन ‘मिस मधेस’, रश्मिता शाक्य ‘मिस बागमती’, सुजाता बस्नेत ‘मिस गण्डकी’, स्वर्णिमा सापकोटा ‘मिस लुम्बिनी’, कविताकुमारी भण्डारी ‘मिस कर्णाली’ र वन्दना खरेल ‘मिस सुदूरपश्चिम’ भए ।
त्यस्तै अस्मिता महरा ‘मिस कन्फिडेन्ट’, याहान श्रेष्ठ ‘मिस डिसिप्लिन’, युनिशा थापा ‘मिस फोटोजेनिक’, ऋतु बुढाथोकी ‘मिस काइन्डहर्ट’ र सरिता शाह ‘मिस फ्रेन्डसिप’ घोषित भए । प्रतियोगिताको कोरियोग्राफर समिता बज्राचार्य थिइन् ।
विजेतालाई नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक एवं प्रतिनिधिसभा सदस्य धुव्रबहादुर प्रधानले पुरस्कार प्रदान गरे । होस्टल व्यवसायी संघका अध्यक्ष सुनिल भेटवालले यस्तो कार्यक्रमले होस्टेलमा बसेर अध्ययन गरिरहेका विद्यार्थीलाई हौसला प्रदान गरेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।
इन्टरटेन्मेन्ट प्रमुख खगेश रञ्जितले होस्टलमा पढिरहेका विद्यार्थीहरूको उच्च शिक्षाका लागि तथा लुकेको प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । संस्थाले यसअघि ‘मिस नेवाः आइकन’, ‘मिस नेवाः वल्र्ड’, ‘मिस नेसनल’लगायतका प्रतियोगिता गरिसकेको छ ।